जेन-जी आन्दोलनको हलचलसँगै नेपाली कांग्रेसभित्र अर्को आन्तरिक आन्दोलन सुरु भयो - हस्ताक्षर अभियान । नेतृत्व परिवर्तनका लागि वरिष्ठ नेता डा. शेखर कोइरालाले 'नियमित महाधिवेशन' र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले 'विशेष महाधिवेशन'को माग गरे । विशेष महाधिवेशनका लागि कुल महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ मध्ये २ हजार ४८७ जनाले हस्ताक्षर गरेका छन् । मृत्यु भएका र पार्टी त्यागेका १८७ कटाउँदा हाल कायम रहेको संख्या ४ हजार ५५६ महाधिवेशन प्रतिनिधि सङ्ख्या ५४.५८ प्रतिशत हुन्छ । यो हस्ताक्षर मङ्सिर मसान्तभित्र गर्ने गरी नियमित महाधिवेशनका लागि दबाब र विशेष महाधिवेशनको लागि औपचारिकता हो । यसबाट नियमित महाधिवेशन गर्न आलटाल गरियो भने पार्टीकै दुर्भाग्य हुने अवस्था उत्पन्न हुनसक्छ ।
यो अभियान सभापति शेरबहादुर देउवाको बिदाइका लागि मात्र हो कि नेतृत्वको चरित्र र शैलीकै परिवर्तनका लागि हो ? यही नैतिक दबाब पूर्ण प्रश्न अहिले नेपाली कांग्रेसको केन्द्रीय राजनीति निर्धारण गर्ने मुख्य विषय बनेको छ । सभापति देउवाको बिदाइको औपचारिकत मात्र हो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समितितको म्याद थप गरेर ६ महिनादेखि १ वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव आउन सक्छ । तर यो आन्तरिक आन्दोलन नै हो “नयाँ नेतृत्व” का लागि भने मङ्सिर मसान्तभित्र विशेष वा नियमित महाधिवेशनको कार्य तालिका केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्नुपर्नेछ ।
विशेषगरी वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको लागि यो नैतिक परीक्षाको पनि विषय बनेको छ । असोज २८ गतेदेखि प्रारम्भ भएको केन्द्रीय समितिको बैठक तिहार र छठ पर्वको कारण कार्तिक १३ गतेसम्म स्थगित गरिएको छ । यसैले कार्तिक १३ गतेदेखि पुनः सुरु हुने केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनको तालिका सार्वजनिक गर्नुपर्छ ।
१५ औं महाधिवेशन : म्याद थप र हस्ताक्षरको उपेक्षा हुने आशंका
नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र अहिले परीक्षणमा छ । कार्यसमितिले म्याद थपेर महाधिवेशन ६ महिना वा एक वर्ष पछि सार्ने निर्णय गर्यो भने यो हस्ताक्षरको अपमान हुनेछ । मङ्सिर मसान्तैभित्र नियमित वा विशेष महाधिवेशनको घोषणा भए हस्ताक्षरको सम्मान पनि मानिनेछ । महाधिवेशन कार्यतालिका नल्याएमा युवा पुस्ता, कार्यकर्ता र नागरिकले उठाएको “परिवर्तनको भावना” लाई सम्मान गर्ने अवसर दलको शीर्ष तहले गुमाउनेछ । यसपटक कांग्रेसले निर्णय गर्नुपर्छ - लोकतन्त्रमा स्थायित्वको ढोंग गर्ने कि जनभावनाअनुसार नेतृत्व हस्तान्तरण गर्ने ? भविष्यले देखाउला ।
केन्द्रीय समितिको बैठकमा जेन-जी आन्दोलनको अर्थ र नेपालको राजनीतिक चेतना बारे बृहत् छलफल र संवादमार्फत् जेन-जी आन्दोलन राजनीतिक आक्रोशमात्र होइन सामाजिक, आर्थिक अन्यायको विस्फोट पनि हो बुझ्नुपर्छ । बेरोजगारी, भ्रष्टाचार, अपारदर्शी चरित्र, अवसरको केन्द्रीकरण र दलगत संरक्षणले युवालाई निराश बनायो भन्ने निष्कर्षसहित सभापति देउवाले नेतृत्वबाट विश्राम लिनु यस आन्दोलनको नैतिक जित हो भने आक्रोशलाई संगठनात्मक रूपान्तरणमा परिणत गर्न कसरी सकिन्छ भन्ने प्रश्न उब्जेको छ ।
नेतृत्व संक्रमणको अवसर र चुनौती
नेपाली कांग्रेसभित्र अब दुई बाटा देखिन्छन्
१. स्थायित्वको नाममा आलटाल वा
२. परिवर्तनको नाममा नेतृत्व हस्तान्तरण
सभापति देउवापछि नेतृत्व हस्तान्तरण संयमित र पारदर्शी ढङ्गले भयो भने नेपाली कांग्रेसले युवाको भरोसा पुनः जित्न सक्छ । लोभमा फस्यो भने नेपाली कांग्रेस नै लोप हुन सक्छ भन्दैछन् । अर्कोतर्फ पुरानै प्रवृत्तिअनुसार फेरि सत्ता भागबन्डाको खेल भयो भने नेपाली कांग्रेसको संगठनात्मक संरचना नै भासिने जोखिम छ । यसमा हरेक तहका नेतृत्वकर्ता सचेत र सजग हुन् जरुरी छ । विगतका झैँ नेताकै अन्धभक्त बन्ने कि चेतावनी दिएर खबरदारी गर्ने तिनैको हातमा हुनेछ ।
भविष्यको बाटो
नैतिक राजनीति र युवा पुस्ताको भूमिका
राजनीतिमा नैतिक इमानदारीमात्र भएर पुग्दैन जवाफदेही र जिम्मेवारीपूर्वक सत्ता हस्तान्तरण गर्ने संस्कार पनि आवश्यक हुन्छ । सभापति देउवाले त्यो संस्कारको चुकुल खोलिदिएका छन् । अब युवा पुस्ताले त्यो ढोका खोलेर नयाँ बाटो बनाउनुपर्छ । वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले यस अवसरलाई संस्थागत सुधार र नीतिमा आधारित नेतृत्वमा परिणत गर्न सकेमात्र जेन-जी आन्दोलनको मर्म आत्मसात् हुनेछ तथा नेपाली कांग्रेसले सही गति लिनेछ ।
जसले जे भने पनि नेपाली कांग्रेस र लोकतन्त्र अझै पर्यायवाची नै हुन् । कांग्रेस बलियो भए लोकतन्त्र जीवन्त हुनेछ भने कमजोर भए लोकतन्त्र हुनसक्ने दृष्टान्त निकट अतीतमा पनि नेपाली जनताले भोगेकै हुन् । अहिले यस पंक्तिकार लगायत नेपाली कांग्रेसका '४० वर्ष मुनिका ४० जना' युवाको अभियानले हरेक तहमा ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित, एक पद एक जिम्मेवारी, सांसद ३ पटक, मंत्री २ पटक र प्रधानमन्त्री १ पटकसहित हरेक तहका सभापतिले निर्वाचनमा भाग लिन नपाउने प्रस्तावसहित निर्वाचन प्रणालीजस्ता महत्त्वपूर्ण विषयमाथि छलफल गर्न प्रारम्भ गरेको छ ।
इतिहासको मोड र जिम्मेवारीको क्षण
गत भदौ २३ र २४ को आगजनीदेखि असोज २८ को सभापति देउवाको घोषणा र हस्ताक्षर अभियानलगायतका सबै घटना नेपाली कांग्रेसमात्र होइन सम्पूर्ण लोकतान्त्रिक राजनीतिकै निर्णायक मोड हो । सभापति शेरबहादुर देउवाले राजनीतिक संस्कृतिमा संयम र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन् । अब प्रश्न बाँकी छ के नेपाली कांग्रेस र अन्य दलहरूले पनि त्यो नैतिक पाठ सिक्नेछन् ?
राजनीतिक मूल्याङ्कन जित्नेमात्र होइन त्याग्ने क्षमतामा पनि निहित हुन्छ । त्यो पाठ देउवाले सिकाए नागरिक देखे । अब पालो नैतिकरूपमा अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकमल दाहाल'प्रचण्ड'को हो । अब जेनेरेसन-जेड आन्दोलन र नयाँ पुस्ताले त्यो पाठलाई संस्थागत गर्ने जिम्मेवारी बोकेका छन् । यो अवसर गुमाइयो भने लोकतन्त्र फेरि नेतृत्वको लोभको जालोमा फस्नेछ । तर यो क्षण समालियो भने नेपालको राजनीतिमा नयाँ युग सुरु हुनेछ जहाँ नेतृत्व परम्पराबाट परिवर्तनतर्फ र व्यक्तिवादबाट संस्थागत उत्तरदायित्वतर्फ रूपान्तरण हुनेछ । आशा गरौँ, परिवर्तित नेतृत्वले सही गतिमा गन्तव्य लैजानेछ नभए आफैँ पनि दुर्घटनाको सिकार बन्नेछ ।
देउवाको अभिभावकीय विश्रामले वरिष्ठ नेता डा. कोइराला र महामन्त्रीद्वयको काँधमा जिम्मेवारी आएको छ । अब उनीहरू पनि लुकामारी गर्छन् कि नेपाली कांग्रेसलाई ऐतिहासिक पार्टीमा रूपान्तरण गर्छन् भन्ने चासो पनि बढ्दै जानेछ । साथै देशमा बढेको अस्थिरता, अशान्ति, द्वन्द्व र आगजनीजस्ता अप्रिय घटनाबाट मुक्त हुन शान्ति, सदभाव र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न सक्नुपर्छ ।