site stats
बाह्रखरी :: Baahrakhari
विचार
पूर्णबहादुर खड्काको विवेकको अग्निपरीक्षा !

यत्रो रक्तपात र विध्वंसपछि पनि नेपालका कथित राजनीति नेता भनिएकाहरूको धिङ्न्याइ एक रती घटेनको देखिएन । न कतै पछुतो छ । न भविष्यको चिन्ता छ । न समाजप्रतिको दायित्व बोध नै । भदौ २३ पछिका दिनहरू सबै बिर्सेजस्तो छ कथित शीर्ष नेताहरूले । उही अहङ्कार, छलछाम र कटाक्ष सुनिन्छ देखिन्छ तिनका गतिविधि, हाउभाउ र अभिव्यक्तिमा ।

कुनै बेला नेपाली समाजमा आधुनिकता र विद्रोहको पर्याय बनेको नेपाली कांग्रेस राष्ट्रिय सङ्कटको यस घडीमा 'विशेष महाधिवेशन कि नियमित महाधिवेशन' भनेर दन्तबझान गरिरहेका छन् । विधानअनुसार अब विशेष महाधिवेसन बोलाउनै पर्ने हुन्छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का चर्को दबाबमा छन् । किसुनजीको 'चेला' भएको दाबी गर्दै 'ब्रह्म'ले देखेको निर्णय गर्छु भन्दैछन् । पूर्ण जी, सहमति गराउन नसके त विधानअनुसार निर्णय गर्नुपर्ने होइन र ?

यद्यपि, अहिले विशेष महाधिवेशन गर्दा एउटा पक्षले हारेको र अर्को पक्षले जितेको ठान्नेछन् । हारेको ठान्नेहरू महाधिवेशनबाट पनि हारे भने ( विशेष महाधिवेशन गर्नै हुँदैन भनेर बुर्लुक्क उफ्रने ६ भाइलगायत अधिकांश पक्कै हार्छन् !) तिनले पार्टी पनि फुटाउन सक्छन् । तीमध्ये धेरैको अतीत विभाजनकारी नै छ र २०५९ सालमा पार्टी नफुटेको भए तीमध्ये धेरै अहिलेसम्म थान्को लागिसकेका हुन्थे । एक रहँदा त २०८२ फागुन २१ को चुनाव (भयो भने) 'फलामको चिउरा' हुनेदेखिन्छ नेपाली कांग्रेसलगायत पुराना दलका नेतालाई भने फुटेको अवस्थामा के होला ?

(नेपाली कांग्रेस फुटेका खण्डमा यस पार्टीको भविष्य भने उज्यालो हुनसक्छ । पार्टी फुटेपछि बाबुबाजेको योगदानको 'ब्याज' खानेदेखि 'भुइँफुट्टा' ऐजेरुहरू अधिकांश अहिलेका संस्थापन पक्षधरहरू पन्छिने सम्भावना धेरै देखिन्छ । पार्टीले त्यस अवस्थामा असल चरित्रको कुशल नेतृत्व पायो भने अर्को चुनावमा जनताको विश्वास पनि पाउन सक्छ । नेपाली कांग्रेस अहिले फुटेर कमजोर हुँदा नेपालको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने जोखिम पनि छ । )

अहिले महाधिवेशन भएन भने चुनावमा सबैभन्दा गह्रुंगो भारी नेपाली कांग्रेसले नै बोक्नुपर्नेछ । विगतमा जस्तै नयाँ पुराना सबैले प्रतिद्वन्द्वी कांग्रेसलाई नै ठान्नेछन् । स्वाभाविक पनि हो । कांग्रेस २००७ सालदेखि नै एउटा सिंगो शक्ति रह्यो । विभाजन हुँदा पनि मूल कांग्रेस नेपाली राजनीतिको केन्द्रमै थियो ।

चरम दक्षिणपन्थी, उग्रवामपन्थी र परम्परावादी, विचारविहीन नयाँशक्ति सबै कांग्रेस हराउन हटाउन लाग्थे । अहिलेसम्म पनि यो प्रवृत्ति कायमै देखिन्छ । कांग्रेसका कार्यकर्ता नेताकै बोझले थिचिनेछन् । सुरुमै तेजोबध भएका कार्यकर्ता कसरी चुनावमा होमिनु ? कतिले पार्टी नै छाड्नेछन् भने कति चुपचाप बस्नेछन् ।

लागेको थियो पूर्णबहादुर खड्काले विलम्ब नगरी विशेष महाधिवेशन पक्षमा नेताहरूलाई सहमतिमा लिएर नयाँ बाटो पहिल्याउनेछन् । सम्भावना त अझै पनि सकिएको छैन । प्रतिनिधि सभाको चुनावभन्दा पहिले अर्थात् पुसभित्रमा ( नयाँ समितिलाई चुनावको तयारी गर्ने समय पुग्नेगरी ) नियमित महाधिवेशनको मिति तोक्ने हो भने सम्भवतः विशेष महाधिवेशनका पक्षधरहरूले पनि चित्त बुझाउलान् । त्यस अवस्थामा कसैले पनि हारेको ठान्नु पर्नेछैन ।

सभापति शेरबहादुर देउवाको बोझबाट मुक्त कार्यकर्ताहरू बगदादको 'समुद्री बूढो'लाई काँधबाट उतारेको सिन्दाबादजस्तै मनोबल लिएर चुनावमा होमिनेछन् । चुनाव कार्यकर्ता र मतदाताका लागि समेत अपेक्षाकृत सहज हुनेछ र उनीहरूले कांग्रेस भएकोमा गर्व गरिरहनेछन् । कार्यकर्ताले संगठन छाड्नेछैनन् । अर्थात्, नेपाली कांग्रेस बलियो हुनेछ ।  त्यस अवस्थामा फागुन २१ को निर्वाचन परिणाम जस्तो भए पनि नेपाली कांग्रेस  राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न समर्थ हुनेछ । कांग्रेस कमजोर नहोस् भन्नेहरूको मूल चिन्ता यही हो ।

पूर्ण जीले आफूलाई किसुन जीको चेला भनेका छन् । हुन पनि उनलाई किसुन जीले बढी नै माया गरेको पनि देखिएको थियो । विसं २०५६ को निर्वाचनपछि पूर्णबहादुर खड्का गृह र सञ्चारमन्त्री बनाइएका थिए । यो किसुन जीको विश्वास प्रमाण हो । भट्टराईले २०४६को आन्दोलनलगत्तै पनि योगप्रसाद उपाध्यायलाई गृह र सञ्चार मन्त्रालय दिएका थिए ।

कार्यवाहक सभापति खड्का किसुन जीको साँच्चैको चेला साबित हुने हो भने आफू वा आफ्नो पक्षको लाभ नहेरी ऐजेरुहरूको दबाब नटेरी सिंगो पार्टी र अझ देशको हित हुने निर्णय गरुन् । विसं २०५१ मा 'अन्तर्घात'को पीडासमेत 'विस्मृति'मा थन्क्याउन सकेकैले २०५६ मा कृष्णप्रसाद भट्टराई पार्टीका निम्ति अपरिहार्य नायक सिद्ध भएको मात्रै सम्झे पनि पुग्छ ।

चुनावभन्दा पहिले महाधिवेन गरेर नेपाली कांग्रेसलाई जीवनदान गरे भने पूर्णबहादुर खड्का इतिहासमा पनि स्मरणीय र अनुकरणीय हुनेछन् ।  इतिहासले मौका दिएको छ । सभापति देउवाले खड्कालाई कार्यवाहक दिएर कांग्रेसको नेता हुने मौकाका साथै विवेक प्रयोगको अवसर र चुनौती पनि दिएका छन् । पार्टीलाई सुरक्षित किनारामा लगाउन सके खड्काले यो अग्निपरीक्षामा ‘डिस्टिङ्सन’ ल्याउनेछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्