site stats
बाह्रखरी :: Baahrakhari
विचार
प्रधानमन्त्रीलाई पत्र–सही रणनीति कहिलेकाहीँ आवाजभन्दा धेरै शक्तिशाली हुन्छ

यस पत्रमार्फत् म सम्माननीय प्रधानमन्त्रीसँगै माननीय मन्त्री र गभर्नर महाशयहरूसँग गर्छु नेपालको अर्थतन्त्र तथा पुँजी बजार सुदृढीकरणका लागि आवश्यकीय नीति सुधार तथा स्टारलिङ्कका लागि मार्ग खुला गरिदिन विनम्रतापूर्वक निवेदन गर्छु ।

सबै माग ढोका ढकढक्याएर, चर्को आवाज निकालेर वा पत्र दिएरै राख्नुपर्छ भन्ने हुँदैन । इतिहासले देखाएको छ सही रणनीति कहिलेकाहीँ आवाजभन्दा धेरै शक्तिशाली हुन्छ ।

नेपालका राजनीतिक दलका नेताहरूले प्रायः जनताको वास्तविक आवश्यकतामा ध्यान दिन सकेनन् । भ्रष्टाचारमात्र गरिरहे  अझ भनौ भ्रष्टाचारको रेकर्ड नै तोडे। विकासलाई प्राथमिकता दिनुको सट्टा, कतिपय बेला भ्रम र असंयमले देशलाई पछाडि धकेलेको छ ।

सरकारले सुनेन भने के गर्ने ? सन् १९९८ को आर्थिक संकटको समयमा र पछि २००८ को विश्वव्यापी वित्तीय सङ्कटमा एमडी हेलिकोप्टर्स  कम्पनी गम्भीर समस्यामा परिरहेको थियो । त्यसबेला कम्पनीकी मालिक तथा अमेरिकाकी प्रसिद्घ व्यवसायी श्रीमती लिन टिल्टनले सरकारलाई व्यवसायी र उद्यमीहरूको आवाज सुन्न बारम्बार आग्रह गरिन् । तर सरकारी अधिकारीहरूले उनको आवाजलाई बेवास्ता गरे ।

अन्ततः उनले साहसिलो कदम उठाइन् ।

उनले न्यु योर्क टाइम्स र वासिङ्टन पोस्टका व्यावसायिक पृष्ठहरूको पूर्ण फ्रन्ट पेज विज्ञापन किनेर त्यसैमा राष्ट्रपतिलाई खुला पत्र प्रकाशित गरिन् । उनको एउटै रणनीतिक कदमबाट व्यक्तिगत भेटघाटले सम्भव नभएको सरकारले सुन्न नचाहेको कटु सत्यलाई सिधै राष्ट्रपतिको टेबलमा पुर्‍याइन् ।

यसले एउटा कुरा स्पष्ट गर्छ - चर्को आवाजले होइन 'अहिले होइन भने कहिले?' र 'यहाँ होइन भने कहाँ ?' भन्ने सोचले छानिएको सही प्लेटफर्म, सही समय र सही सन्देशले असली प्रभाव सिर्जना गर्दोरहेछ ।

नेपाल आज महत्त्वपूर्ण आर्थिक मोडमा उभिएको छ । देशले यस सरकारलाई परिवर्तनको म्यान्डेट दिएको छ,र त्यो म्यान्डेटले आर्थिक संरचना परिवर्तन गर्ने पनि नैतिक तथा राजनीतिक जिम्मेवारी साथैमा ल्याएको छ ।

म यो पत्र बहिर्गमित सरकारको एउटा दुर्भाग्यपूर्ण कदमलाई कोट्याएर आरम्भ गर्छु । केपी ओली सरकारको समयमा मैले प्रधानमन्त्री र स्पेसएक्स (SpaceX) का अध्यक्ष ग्विन सटवेलबीच सम्पर्क सुलभ गराउने कार्य गरेँ र एलन मस्कको कार्यालयसँग नेपालमा स्टारलिंक ल्याउने विषयमा छलफलको अनुरोध गरेँ । एलन मस्कसँग प्रधानमन्त्री ओलीले कन्फ्रेन्स कल (फोन) गरे । तर, पछि ओली सरकारले मलाई छलेर सम्पर्क गोप्य राख्यो र स्टारलिंकलाई “सैनिक उपकरण” भन्दै गणतन्त्र चीनले मान्दैन भनेर गलत ढंगले प्रस्तुत भयो । आफ्नै सार्वभौमकिताको पनि हेक्का राखेन । 

धेरैले थाहा पाएका छैनन् ओली सरकारले सामाजिक मिडियामा पनि प्रतिबन्ध लगाउने प्रयास गर्‍यो, फेसबुकलाई दबाब दिने र केही सल्लाहकारमार्फत परिबन्दमा पारेर मेटा संचालन साझेदारी एजेन्सी नियन्त्रण गर्ने योजना बनाएको थियो ।

आज अन्य सार्क राष्ट्रहरूले स्टारलिंक अपनाइरहेका बेला नेपालले अब ढिला गर्न हुँदैन । यसले दूरदराजका क्षेत्र, शिक्षा र स्वास्थ्य सेवामा ठूलो फाइदा पुर्‍याउनेछ । यस परिप्रेक्षमा भरोसायोग्य प्रधानमन्त्री सुशीला कार्कीको सरकारले ओलीकालका गल्ती सच्याउनु पर्छ । नेपाललाई पारदर्शिता, नवप्रवर्तन र भविष्यमुखी निर्णयहरू आवश्यक छन् जसबाट विश्वसँग कदम मिलाउन सकियोस् ।

राजनीतिक अशान्तिका समयमा तोडफोड, आगजनी वा विनाशमा परेका देशभरका हजारौँ निजी उद्यमहरू पुनः उठ्ने प्रयासमा अहिलेसम्म संघर्षरत छन् । ती उद्यमहरूलाई पुनर्निर्माण र पुँजी पुनःआर्जन गर्ने समान, नियोजित र न्यायोचित अवसर प्रदान गर्नु आजको आवश्यकता हो । अब म पुँजी बजारमा यहाँहरूको ध्यान आकृष्ट गर्न चाहन्छु । 

नेपालमा सेयर बजार 'स्याचुरेट' हुँदा र बैंकहरूको सञ्चितिले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्दा  बैंकहरूले नयाँ ऋण प्रवाह गर्न सक्दैनन् । ब्रान्ड भ्यालुका आधारमा ऋण दिन सक्दैनन्, ‘तीन पुस्ताको धितो’ फुकुवा गरेजस्तो देखाए पनि अन्त्यमा फेरि स्थिर सम्पत्ति नै उच्च ब्याजदरमा धरौटी मागिन्छ । यस्तो अवस्थामाः पुँजी बजारलाई सक्रिय बनाउन बैंकहरूले सेयर बजारमा लगानीयोग्य कोष (float fund) परिचालन गर्न सक्षम हुनुपर्छ ।

अमेरिकासँग तुलना गर्दा त्यहाँ 'प्रोजेक्ट फाइनान्सिङ' निकै सरल छ । व्यवसायले आफ्नै पारिवारिक घर जग्गा धितो राख्नुपर्दैन । बुबाआमाको छतको घर धितो राखेर ऋण लिने प्रचलन छैन । तर नेपालमा व्यवसाय असफल भयो भने निर्दोष परिवारका सदस्यहरू—बुबाआमा, छोराछोरी सबैको घर, खाना, स्वास्थ्य र शिक्षासम्म जोखिममा पर्छ । यही विभत्सता आज नेपाली परिवारले झेलिरहेका छन् । किनभने यहाँ ऋणको दायित्व तीन पुस्तासम्म फैलिन्छ।

पश्चिममा भने यस्तो हुँदैन । त्यहाँ व्यवसायलाई जोगाउने विभिन्न प्रकारका दायित्व सुरक्षण बिमा (liability protection insurance) हुन्छन्। त्यहाँ वस्तु, विनिमय र बजारका विविध वित्तीय उपकरणहरूले पुँजी बजारलाई मजबुत बनाउँछ । नेपालले पनि अब यो सत्य स्वीकारेर नीतिहरू परिमार्जन गर्दै आधुनिक र दृढ पुँजी बजार विकास गर्नुपर्छ ।

यसका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पुँजी बजारलाई बैंकिङ स्रोतहरू उपयोग गर्न दिने अग्रगामी तथा आधुनिक वित्तीय नीति अविलम्ब अपनाउन आवश्यक छ । स्पष्ट विनियमनअन्तर्गत बैंकहरूलाई सेयर बजार तथा पुँजी निर्माणमा जाने ऋण उपलब्ध गराउने अनुमति दिनुपर्छ । यस्तो नीतिले निजी क्षेत्रलाई पुनर्जीवित गर्नेछ र उद्यमशीलता प्रवर्द्धन गर्नेछ । फलस्वरूप, राष्ट्रिय उत्पादकत्वमा प्रत्यक्ष योगदान पुर्‍याउनेछ । यो तरलता बढाउने विषयमात्र होइन। 

यस सरकारको प्रतिबद्धता देशमा नयाँ युग सुरु गर्ने हो । त्यो युग बलिया आर्थिक सुधार, आधुनिक पुँजी बजार नीति र निजी क्षेत्रको पुनरुत्थानलाई प्रोत्साहन गर्ने वातावरणबाट सुरु हुन्छ । नेपालको दीर्घकालीन आर्थिक स्थिरता र विकासका लागि यी सुधारहरू अत्यन्त आवश्यक भएकाले यस विषयमा तपाईँहरूको तत्काल ध्यान र निर्णायक कदमका लागि हार्दिक अनुरोध गर्छु ।

देशमा अहिले राजनीतिकर्मी छन् 'नेता' छैनन् । देशलाई राष्ट्र बनाउन सकिएको छैन । मौका मिले देशका प्राथमिकता विस्तार गरौला । 

(पूर्व सांसद एवं पर्यटन उद्यमी)

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्